काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसबीच शिष्टाचार भेट भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र गुटेरेसबीच मंगलबार सिंहदरबारमा भेटवार्ता भएकाे हाे । आफ्नाे कार्यकक्षमा भएकाे भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालले संयुक्त राष्ट्रसंघसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेको बताउनुभयाे ।
नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्वान्तमा पूर्ण रुपमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयाे । विद्यमान विश्व परिवेशमा देखा परिरहेको चुनौतीहरुको सन्दर्भमा संयुक्त राष्ट्रसंघले अझ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि अध्यक्ष तिमिल्सिनाले व्यक्त गर्नुभयो । संयुक्त राष्ट्रसंघीय मिसनले नेपालको शान्ति प्रक्रियामा खेलेको मध्यस्तकारी भूमिका नेपालका लागि अत्यन्तै महत्वपूर्ण रहेको र विश्वले नै उदाहरणीय मानेको नेपालको शान्ति प्रक्रियालाई सफल निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघको भूमिका प्रशंसनीय भएको उहाँले बताउनुभयाे ।
संयुक्त राष्ट्र संघले विश्वशान्तिका लागि निरन्तर पैरवी गर्दै आएकोमा शान्तिको पक्षधर नेपाल संघप्रति आभार प्रकट गर्दै शान्ति स्थापनाका लागि विश्वका विभिन्न मुलुकहरूमा संयुक्त राष्ट्र संघले परिचालन गर्ने शान्तिसेनामा नेपालले सहभागिता जनाउँदै आएको स्मरण पनि गराउनुभयो । उहाँले महासचिवको भ्रमणपछि शान्ति सेनामा नेपालको सहभागगिता अझै बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्रसंघ लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रही आएकोमा धन्यवाद दिँदै अध्यक्ष तिमिल्सनाले दिगो विकास लक्ष्य हासिल गर्दै सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा संयुक्त राष्ट्र संघ र यसका निकायहरूको सहयोगको अपेक्षा गरेकाे बताउनुभयाे ।
विश्वव्यापी समस्याका रूपमा देखिएको जलवायु परिवर्तनका असर न्युनीकरणका लागि संयुक्त राष्ट्र संघले गर्दै आएका क्रियाकलापहरू निकै महत्वपूर्ण भएको र जलवायु परिवर्तनबाट सिर्जना हुने असरहरूबाट उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकहरू यसका लागि संयुक्त राष्ट्र संघले अझै बलियो रूपमा लागि पर्नेमा विश्वस्त रहेको बताउनुभयाे ।
भेटमा महासचिब गुटेरेसले शान्ति प्रकृयामा नेपालले पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । उहाँले जलवायु परिर्वतनबाट परेको प्रभाव प्रत्यक्ष अनुभुत गरेको बताउँदै यसका असर न्युनीकरणका लागि र पिडीत राष्ट्रहरुले भोगिरहेको समस्या प्रति जानकार रहेको बताउनुभयाे ।
