काठमाडाैं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्याल विरुद्ध उजुरी दिन आह्वान गरेकाे छ ।
बुधबार सिंहदरबारमा बसेको समितिकाे बैठकले परराष्ट्र मन्त्रालयका सचिव समेत रहनुभएका पौड्याल विरुद्ध उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।
समितिका सभापति पशुपति शम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो ।
कात्तिक २ गते बसेकाे मन्त्रिपरिषद् बैठकले क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेकाे थियाे ।
मन्त्रिपरिषदको सिफारिसपछि परराष्ट्र मन्त्रालयले कात्तिक ३ गते सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो । मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
