काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन् ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरूबाट टेबुल गरिने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पनि पढेर सुनाउने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ भने राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यसूची छ ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम १ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभामा स्वीकृतिको लागि पेश गर्ने कार्यसूची रहेको पनि रहेको छ ।
राष्ट्रिय सभाको बैठक पनि आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विद्युतीय व्यापार विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको छ ।
यसै बिच संघीय संसद्को चालु अधिवेशन अजा रातिबाट अन्त्य हुने भएको छ । मन्त्री परिषद् बैठकले चालु अधिवेशन अन्त्यको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
