काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी सशस्त्र युद्ध सुरु भएको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिनुपर्ने बताउनुभएकाे छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सरकारले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताउँदै फागुन १ गते बिदा दिने नै हो भने संसदबाट पारित गर्नुपर्ने बताउनुभयाे ।
'यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवश मनाउनु ठीक हो भन्ने लाग्छ भने यो सदनमा प्रस्तुत गरेर पारित गरोस्’ उहाँले भन्नुभयाे ‘त्यसको परीक्षण गर्न सरकार तयार छ ? सरकार यो गलत निर्णयबाट पछाडि हटोस् । यदि पछि हट्न चाहदैन भने सदनमा ल्याओस् ।’
फागुन १ गते नेपालमा हिंसाको आरम्भ भएको भन्दै पौडेलले त्यस दिन उत्सवको दिन हुन नसक्ने बताउनुभयाे ।
‘त्यो नेपालमा हिंसा आरम्भ भएको दिन थियो । हिंसाको बाटो गलत थियो भनेर साथीहरु शान्ति प्रक्रियामा सहभागी हुनुभएको हो । त्यो स्वीकारोत्तिका साथमा उहाँहरुको यो सदनमा उपस्थिति छ भन्ने म मान्दछु’ उहाँले भन्नुभयाे ।
