काठमाडौं । प्रतिनिधि सभा सदस्य वर्षमान पुनले आफू सरकारमा हुँदा गरेका काम राम्रो लाग्ने र अर्को दल सरकारमा हुँदा गरेको त्यही काम नराम्रो भन्ने प्रवृत्ति त्याग्नु पर्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पुनले राज्य निरन्तर चल्ने संस्था र प्रक्रिया भएको बताउनुभयो । राज्य विधि र सिद्धान्तमा चल्नु पर्ने उहाँको भनाइ छ । आफूले भनेको जस्तो भए स्वीकार्य हुने तर आफूले भने जस्तो नहुँदा नस्विकार्ने कार्य गलत भएको उहाँको भनाइ । ‘हाम्रो संस्कार, संस्कृति र परम्परालाई टेकेर अगाडि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।
नयाँ पुस्तालाई विश्वासको वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । मिलनको संस्कृति विकास गर्दै लैजानु पर्नेमा पुनले जोड दिनुभयो । ‘हामीले बहुलतालाई स्विकार्न सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
संसद्लाई सहमतिकै वातावरणमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसमा सरकारले नै बढी पहल गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले संयमताका साथ संसद्लाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कतिपय असान्दर्भिक विषयमा समेत संसद् अवरुद्ध भएको उहाँले टिप्पणी गर्नुभयो । आगामी दिनमा यसबाट पाठ सिक्नु पर्ने पुनको भनाइ छ ।
देशको अर्थतन्त्र बिस्तारै लयमा फर्कन लागेको पनि उहाँले दाबी गर्नुभयो । आज बाह्य क्षेत्र अत्यन्त राम्रो भएको उहाँले बताउनुभयो । अब ढुक्कले वैदेशिक बस्नु आयात गर्न सकिने अवस्थामा देश रहेको उहाँको भनाई छ । अझै पनि आन्तरिक तर्फ अर्थतन्त्र चलायमान गराउन सरकारले प्रयत्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
फागुन १ लाई जनयुद्ध दिवस मनाउने निर्णय एमाले सरकामा हुँदै भएकोले अहिले एमालेले त्यसको विरोध गर्नुको औचित्य नरहेको उहाँले बताउनुभयो । विष्णु पौडेल उपप्रधानमन्त्री हुँदा क्याबिनेटले फागुन १ लाई जनयुद्ध दिवस मनाउने निर्णय गरेको उहाँले स्मरण गराउनुभयो ।
