काठमाडौं । प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले देशको अवस्था गम्भीर भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालले सत्ताको दुरुपयोग, महत्त्वपूर्ण कुरालाई ध्यान नदिने र जनताका भावनाको कदर नगर्ने कार्यले देश असफल हुने बताउनुभयो । अहिले एयरपोर्टमा पुग्दा विदेश जानेको ताँती रहेको उहाँले बताउनुभयो । देशको अवस्था बुझ्नु पर्यो भने अन्तर्राष्ट्रिय विमानस्थलमा गए हुने नेपालको भनाइ छ ।
देशको हरेक क्षेत्रमा एक जना असल मानिस आवश्यक रहेको नेपालले बताउनुभयो । देश र जनता प्रति इमानदार भएर काम गर्ने मानिसको खाँचो रहेको नेपालको भनाइ छ । ‘वास्तवमा असल मानिसको कमी भयो’, उहाँले भन्नुभयो ।
अहिले अति निराशावादी र सबै थोक भएको छ भन्ने दुई खालका अतिवादी सोच विकास भएको उहाँले बताउनुभयो । तर राम्रो कामलाई राम्रो भन्न सक्नुपर्ने नेपालले बताउनुभयो ।
समस्याको पहिचान गर्न गम्भीर हुनु पर्ने र समस्याको समाधान गर्न अग्रसर हुनु पर्नेमा उहाँले जोड दिनुभयो । समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा गम्भीर भएर लाग्नु पर्ने नेपालले बताउनुभयो । नेपालको अर्थतन्त्र धेरै उँभो लाग्ने लक्षण नदेखिएको उहाँको भनाइ छ ।
सरकारलाई मात्रै दोष दिएर नहुने बताउँदै नेपाले प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने बताउनुभयो । सत्ताबाट हट्नुपरेको पीडालाई सदन अवरोध गरेर सरकारलाई असहयोग गर्ने गरी व्यक्त गर्ने काम गर्नु नहुने उहाँले बताउनुभयो । ‘सरकारको गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ, त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ, पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन’, उहाँले भन्नुभयो ।
