काठमाडाैं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा उहाँले अधिवेशन अन्त्य गर्नुभएको हो ।
यो अधिवेशनमा संसद्ले धेरै काम गर्न सकेन । संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको थियो । ६ महिना चलेको संसद्को यस अधिवेशनमा बजेटका तीन नियमित बाहेक १ मात्र विधेयक दुवै सदनबाट पारित भएको छ ।
गत वैशाख २४ गतेदेखि सुरु भएको अधिवेशनमा दुवै सदनबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (मिटरब्याजी) पारित भयो । विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक (बजेटसम्बन्धी) पारित भए ।
संघीय संसद्का दुवै सदनमा गरी २१ विधेयक अझै विचाराधीन छन् । अधिवेशन अवधिभर दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भएको छ ।
कात्तिक १५ गते संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकलाई सम्बाेधन गर्नुभएकाे थियाे ।
