काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका ६ जना विरुद्ध उजुरी आह्वान भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिकाे बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय छ । न्यायापरिषद्को मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्चकाे न्यायाधीशमा सिफारिस भएकाहरुको सुनुवाइका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय भएकाे हाे ।
न्यायपरिषद्काे बैठकले शारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधिशमा सिफारिस गरेको थियो ।
समितिका सभापति पशुपतिशम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिनुभयाे सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयाे ।
समितिले उजुरीमाथि छलफल गर्दै प्रस्तावित न्यायाधीशहरुलाई आफ्नो कार्ययोजना पेस गर्ने समय दिनेछ । उहाँहरुको प्रस्तुतिपछि अनुमोदनको निर्णय हुनेछ । सुनुवाइ समितिले उहाँहरुकाे नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई न्यायाधीशमा नियुक्त गर्नुहुनेछ । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठकोले न्यायाधीशहरुलाई शपथ खुवाउनुहुनेछ ।
समितिकाे आजकाे बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको जानकारी पनि सभापति जबराले दिनुभयाे ।
सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।
