काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको हाे । पौडेलसँगको सुनुवाइपछि नाम अनुमोदन गरिएकाे समितिले जनाएकाे छ ।
समितिको कात्तिक १५ गते बसेको बैठकले पौड्याल विरुद्ध उजुरी आह्वान गरेको थियो । उहाँ विरुद्ध दुई वटा उजुरी परेको थियो । उजुरीकर्तामध्ये सम्पर्कमा आएका १ जनासँग समितिले आइतबार नै छलफल गरेको थियो ।
उजुरी लगायत भावी कार्ययोजनाबारे छलफल गरी समितिले पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयाे ।
सुनुवाईका क्रममा समिति सदस्यहरूको जिज्ञासामा प्रस्तावित राजदूत पौड्यालले यसअघि पनि सचिवलाई राजदूत सिफारिस गर्ने प्रचलन रहेको बताउनुभयाे । सरकारलाई आएको छात्रवृतिमा छोरीलाई विदेश पठाएको उजुरी पनि साँचो नरहेको उहाँले दाबी गर्नुभयाे । पौड्यालले आफू राजदूतमा नियुक्ति भए क्यानडामा रहेका नेपालीहरूको समस्या समाधान गर्न र दुईपक्षीय सम्बन्ध विस्तार गर्न ध्यान केन्द्रित गर्ने बताउनुभयाे ।
हालः परराष्ट्र सचिव समेत रहनुभएका पौड्याललाई सरकारले क्यानडाका लागि आवासीय राजदूत एवं क्युवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सुनुवाई समितिले नाम अनुमोदन गरेसँगै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
