काठमाडाैं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि संसदीय समितिमा साेमबार पनि सैद्धान्तिक छलफल भएको छ ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आइतबारदेखि साे विधेयकमाथि दफावार छलफल सुरु भएकाे थियाे । साेमबार सिंहदरबारमा बसेकाे बैठकमा समिति सदस्यहरुले सञ्चालनको स्पष्ट नीतिका साथ विधेयकलाई अघि बढाउनुपर्ने बताएका थिए ।
विधेयकमाथिका संशोधनकर्ता देवेन्द्र दाहाल लगायतले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा राष्ट्रिय शब्द राख्न उचित हुने सुझाव दिएका थिए ।
मुलुकको शिक्षा क्षेत्रमा योगदान पुराउन राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापना गरिने प्रस्तावनामा उल्लेख गर्न सकिने शिक्षा मन्त्रालयका अधिकारीले बताएका थिए ।
समिति सभापति जयन्ती देवी राईले विज्ञहरुको समेत सुझाव लिएर विधेयकलाई अघि बढाउने बताउनुभयो । मंगरबार पनि विधेयकमाथिको छलफल जारी रहने उहाँले जानकारी दिनुभयो ।
कैलालीको गोदावरी नगरपालिका-४ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा रूपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन अध्यापन गराउन सरकारले साे विधेयक ल्याएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री अशोककुमार राईले असाेज १९ गते साे विधेयक राष्ट्रिय सभामा दर्ता गर्नुभएकाे थियाे । असाेज २६ गते राष्ट्रिय सभामा साे विधेयक पेस भएकाे थियाे । सभाले कात्तिक १४ गते साे विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकाे थियाे ।
