काठमाडाैं । संसदीय समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद-बिक्री रोक्न सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकाे बैठकले एनसेलको सेयर खरिद-बिक्री रोकेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको हो ।
एनसेलको कारोबार अपारदर्शी र संशयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिद-बिक्री रोक्नेर अनुसन्धान गर्नुपर्ने समितिको ठहर छ ।
एनसेलका विषयमा ३० दिनभित्र स्वतन्त्र अनुसन्धान गरी समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
त्यसअघि बैठकमा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको ८० प्रतिशत सेयर अर्को कम्पनीलाई हस्तान्तरण भएको सम्बन्धी कुनै कागजात कम्पनी रजिष्ट्रार कार्यालयमा पेस नभएको बताउनुभयो । उहाँले यसअघि पनि एनसेल खरिद-बिक्रिका क्रममा रजिष्ट्रार कार्यालयमा अद्यावधिक गरेको नदेखिएको जानकारी दिनुभयो ।
बैठकमा समिति सदस्यहरुले एनसेलको सेयर खरिद-बिक्री प्रकरण देशको हित विपरीत देखिएकाले तत्काल प्रक्रिया रोक्न निर्देशन दिनुपर्ने बताएका थिए ।
समिति सदस्य अर्जुन नरसिंह केसीले एनसेल प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन हुनुपर्ने बताउनुभयो । एनसेलले बिक्री गरेको सेयर नेपाल सरकार आफैले किन्नुपर्ने समेत उहाँले सुझाव दिनुभयाे ।
समिति सदस्य योगेश भट्टराईले एनसेल प्रकरण सामान्य नभएको बताउनुभयाे । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समितिमा आएर जवाफ दिनुपर्ने बताउनुभयो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल खरिद-बिक्री प्रकरणको छानबिनका लागि आयोग गठन गर्नुपर्ने सुझाव दिनुभयो । एनसेल खरिद-बिक्रीले राज्यलाई घाटा हुने भएपनि राज्यको कुनै निकायले चासो नदिइएको उहाँले बताउनुभयो ।
समितिले एनसेलका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेकाे सभापति पाेखरेलले जानकारी दिनुभयाे ।
एनसेलको विदेशी लगानीकर्ता आजियाटा एनसेलको आफूसँग रहेको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको खुलेपछि साे विषय निक्कै विवादित बनेकाे छ ।
