काठमाडाैं । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद-बिक्रीबारे सरकारसँग जानकारी लिने भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिकाे बैठकले एनसेलका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको हो ।
बैठकमा समिति सदस्यहरुले एनसेलका विषयमा प्रधानमन्त्रीसँगै जानकारी लिनुपर्ने बताएका थिए । सांसद्हरुले प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भनेपछि समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाउन पत्राचार गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
त्यसअघि बैठकमा समिति सदस्य रघुजी पन्तले एनसेल खरिद-बिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताउनुभयो । एनसेलका विषयमा छलफल गर्दा कार्यक्षेत्रका बारेमा भने स्पष्ट हुनुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा सांसद् गगन थापाले एनसेलको शेयर खरिद-बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ हुनसक्ने बताउनुभयो । उहाँले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्न सक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्ने बताउनुभयो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिद-बिक्री प्रकरणको यथार्य आउनुपर्ने बताउनुभयो । उहाँले एनसेलको कर छलीका विषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुची देखिएको बताउनुभयाे ।
