काठमाडाैं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको सुनुवाइ मंसिर २९ गते गर्ने भएको छ ।
आइतबार सिंहदरबारमा बसेको समिति बैठकले उजुरीकर्तासँग छलफल गरेपछि मंसिर २९ गते प्रस्तावित न्यायाधीशको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध १० वटा उजुरीहरू परेका थिए । प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा, टेकप्रसाद ढुंगाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमान विरुद्ध एउटा उजुरी परेका थिए ।
अबको बैठकमा उहाँहरुकाे सुनुवाइ हुने समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यसअघि बैठकमा उजुरीकर्ता पुष्पप्रसाद गुरागाईंले प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले राजस्व न्यायाधिकरणमा रहँदा नियम विपरीत फैसला गरेको आरोप लगाउनुभयो ।
उजुरीकर्तामध्ये दाइजोको विषयलाई लिएर हत्या गरिएकी आरती साहका बुबा विनोदप्रसाद साहले प्रस्तावित न्यायाधिश सारंगा सुवेदीले उच्च अदालत जनकपुरमा रहँदा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई धरौटीमा छोडेको र फैसला न्यायसम्मत नगरेको आरोप लगाउनुभयो ।
प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले सम्पत्ति मुद्दामा न्यायसम्मत फैसला नगरेको उजुरीकर्ताको आरोप छ ।
न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारंगा सुवेदी, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुंगानालाई सिफारिस गरेको थियाे । वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पनि सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा सिफारिस न्यायपरिषद्ले सिफारिस गरेकाे थियाे ।
