काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसद्ले मागे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएकाे छ ।
संघीय संसद् सचिवालयद्वारा १७औं संघीय संसद सेवा दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसद् मागे बमाेजिमको बजेट दिनुपर्ने बताउनुभयाे ।
संसद्का लागि विनियोजित गर्ने बजेटलाई विभाग र शाखाको जस्तो बनाउन नहुने उहाँकाे भनाइ थियाे । संघीय संसद्ले प्रस्ताव गरेको बजेटलाई अर्थ मन्त्रालयले पास गर्नुपर्ने पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।
अध्यक्ष तिमिल्सनाले संघीय संसद्लाई प्रभावकारी बनाउनका लागि निजामती कर्मचारी ऐन, संघीय संसद्को सेवा ऐनलाई मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो । व्यक्ति नभई संस्थालाई केन्द्रित बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।
