काठमाडाैं । संघीय संसद्का सदस्यहरुको एक टोली चीन प्रस्थान गरेकाे छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेकाे नेतृत्वमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यकाे २० सदस्यीय टाेली साेमबार चीन प्रस्थान गरेकाे हाे ।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसद्हरुको टोली १० दिने चीन भ्रमणमा लागेकाे हाे ।
टोलीमा नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा सहभागी हुनुहुन्छ । नेकपा एमालेबाट दामोदर वैरागी, मानवीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने सहभागी हुनुहन्छ । माओवादी केन्द्रबाट प्रमुख सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी हुनुहुन्छ । संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का लगायत पनि टाेलीमा सहभागी हुनुहुन्छ ।
