काठमाडौं । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाइ सकिएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले प्रस्तावित न्यायाधीशमध्ये सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुवाइ गरेसँगै ६ जनाकै सुनुवाइ सकिएको हो । सुनुवाइ भएका प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनका लागि पुस ४ गते बैठक बस्ने समितिले जनाएको छ ।
सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले छिटो न्याय प्रदान गर्ने, पुराना मुद्दालाई किनारा लगाउँदै जाने कुरालाई एकीकृत कार्ययोजना साथै प्रणालीगत विकास गर्नुपर्ने बताउनुभयाे । बहस व्यवस्थापन सम्बन्धमा लिड लयरको व्यवस्थापन गरी बहस गर्नुपर्ने उहाँकाे भनाइ थियाे ।
अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले न्यायसेवाको गुणस्तर, सहज कार्यवातावरण र छिटो न्याय प्रदानका साथै विकृति, भ्रष्टाचार अन्त्य गर्न आफूले पहल गर्ने बताउनुभयाे । न्यायिक सुधारका लागि यसअघि आएका प्रतिवेदनका आधारमा यस क्षेत्रको सुधारका लागि पनि आफू लागिपर्ने उहाँले बताउनुभयाे ।
बैठकमा समिति सदस्यहरूले सहज रूपमा छिटो न्याय प्रदान गर्न प्रस्तावित न्यायाधीशहरूको कार्ययोजनाबारे प्रश्न गरेका थिए ।
मंसिर ५ गते न्याय परिषद्काे बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो ।
सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेमात्रै नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
