काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद नेपाली सेनाले किन उत्पादन गर्न नसकेकाे भन्दै प्रश्न गर्नुभएकाे छ ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद् पन्तले विष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने अवस्था किन आयाे भन्दै प्रश्न गर्नुभयाे ।
भारतबाट विस्फाेटक पदार्थकाे आयात आपूर्ति हुन नसकेकाे र चीनबाट अहिले आपूर्ति सुचारु भइरहेकाे भन्दै उहाँले उनीहरुले नदिए नेपालमा कामै ठप्प हुने अवस्था रहेकाे बताउनुभयाे । सांसद् पन्तले प्रश्न गर्नुभयाे - 'मकवानपुरको सुनाचुरीमा विस्फाेटक पदार्थकाे फ्याक्ट्री छ, नेपाली सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद पनि आफूले उत्पादन गर्न सक्दैन ? ढुंगा फोड्न, पड्काउन चाहिने बारुद पनि अरूको मुख ताक्नुपर्ने हो ? शान्तिप्रिय देश हाे नपर्ला, तर कुनै बेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले ? हाम्रो गोली गट्ठाले ? देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा ?'
बाटो बनाउन पनि छिमेकी देशबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था कहिलेसम्म ? भन्दै उहाँले प्रश्न गर्नुभयाे । ढुंगा फोड्न पनि अरूको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै सांसद् पन्तले यसमा सेनाले कति पहल गरेकाे छ भन्ने प्रश्न पनि गर्नुभयाे । 'जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन, विस्फाेटक पदार्थ आएन भनेर बस्नुपर्ने अवस्था ताेड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ ?'- उहाँकाे प्रश्न छ ।
काठमाडौं-तराई-मधेश द्रुतमार्गकाे प्रगतिबारे समितिले आज नेपाली सेनासँग छलफल गरेकाे थियाे । बैठकमा सांसद् पन्तले आयोजना अघि बढाउन सेनाले औल्याएको विषयमा गम्भीर भएर समाधान केन्द्रित हुनुपर्ने बताउनुभयाे ।
