काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्गकाे काम सहज रुपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार सिंहदरबार बसेकाे बैठकमा नेपाली सेनासँग छलफल गरेपछि समितिले आयोजना निर्माणमा देखिएका समाधान गरी सहज रुपमा अघि बढ्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकले पूरक प्रभाव मूल्यांकन समयसीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरि रुख कटान तथा जग्गा प्राप्ति लगायत काम समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन तथा वातावरण, अर्थ लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकले राष्ट्रिय गौरवका आयोजनालाई समयमा नै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न मन्त्रिपरिषद्को कार्यालय लगायत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।
बैठकले फास्ट ट्रयाक निर्माणका सन्दर्भमा सेनाबाट माग भएबमोजिम आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमा नै उपलब्ध गराउन र आवश्यक अन्तर निकाय समन्वयको सहजीकरका लागि पनि सरकारलाई निर्देशन दिएको सभापति खतिवडाले बताउनुभयो ।
समितिले काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माण समय सीमाभित्रै सक्न पनि नेपाली सेनालाई निर्देशन दिएकाे छ ।
बैठकले सार्वजनिक खरिद ऐन, नियमावली अनुसार कामकाज गर्न र फास्ट ट्रयाकमा संलग्न ठेकेदारहरुसम्बन्धी विवादको विषयमा जानकारी लिने निर्णय गरेको छ । यी विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसहितको बैठक बस्ने निर्णय समितिले गरेकाे हाे ।
आवश्यक समयमा आयोजनाको भ्रमण गर्ने निर्णय भएको पनि समिति सभापति खतिवडाले जानकारी दिनुभयो ।
