काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का विषयमा विज्ञसँग छलफल गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिकाे बैठकले विधेयकलाई थप समृद्ध बनाउन शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुसँग छलफल गरेको हो ।
बैठकमा विज्ञहरुले विधेयकमा विश्वविद्यालय सञ्चालनमा गुणस्तरीयता, स्वायत्तता र विज्ञताका विषयलाई प्राथमिकतासाथ राख्नुपर्नेमा जोड दिएका थिए ।
विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समितिका सदस्य डा. सूर्यराज आचार्यले विश्वविद्यालयहरुमा लागू गर्ने पाठ्यक्रम सीपमूलक हुनुपर्ने बताउनुभयो । उहाँले नेपालका विश्वविद्यालयले मौलिक शिक्षा प्रदान गर्दै युवाहरुलाई स्वदेशमा नै परिचालन हुने अवस्था बनाउनुपर्ने बताउनुभयाे ।
बैठकमा शिक्षामन्त्री अशोक कुमार राईले नेपालमा भएका विश्वविद्यालय र आवश्यकताका सन्दर्भमा छलफल गर्दा व्यवस्थित बनाउने गरी कानुन निर्माण गर्ने सुझाव आएको बताउनुभयाे । उक्त विधेयक यसअघि नै आएकाले अब समानुकूल संशोधनका साथ अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
विधेयकमा प्राप्त सुझावलाई अध्ययन गरी आवश्यकताका आधारमा समावेश गर्दै विधेयकलाई अघि बढाइने समितिले जनाएको छ ।
