काठमाडाैं । संसदीय समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात उपललब्ध गराउन निर्देशन दिएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हालै नियुक्त भएका कोषका कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धि प्रमाणित कागजात र अनुभवको विवरण ३ दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शिघ्र यकिन गरी हावसाविक गरि कोषको नाममा लालपूर्जा लिने निर्णय गर्न पनि कोषलाई निर्देशन दिएएको छ ।
गौशालास्थित धर्मशाला सञ्चालक आनन्द होटेलसँग कोषले गरेको सम्झौताको सक्कल विवरण र पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो । बैठकले पशुपतिको गुरुयोजनालाई समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको उहाँले बताउनुभयो ।
बैठकले पशुपति क्षेत्रमा सञ्चालनमा रहेको विद्युतीय शव दाहगृहको संख्या थप गर्न निर्देशन दिएको छ ।
त्यसअघि बैठकमा सांसद्हरुले कार्यकारी निर्देशक नियुक्तिका विषयमा प्रश्न उठाउदै समितिले अध्ययन गर्नुपर्ने बताएका थिए ।
