काठमाडौं । संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति तत्काल छानबिन गर्न निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकले बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको हाे ।
आर्थिक चलखेल गरी अवाञ्छित र अपारदर्शी रुपमा विभिन्न कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएर गैरजिम्मेवारीपूर्ण काम गरेको गुनासो रहेकाले हमालको सम्पति तत्काल छानबिन गर्न भनेकाे हाे । हमालकाे सम्पत्तिबारे अनुसन्धान गरी ३० दिनभित्र त्यससम्बन्धी कार्यप्रगति विवरण समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिएकाे छ ।
बैठकमा बोर्डका अध्यक्ष हमाललाई छलफलका लागि बोलाइएको थियो । तर हमाल बैठकमा अनुपस्थित भएपछि समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा छानबिन गरी ३० दिनभित्र कार्यप्रगति समितिलाई उपलब्ध गराउन अख्तियारलाई निर्देशन दिएको छ ।
बैठकले घाटामा गएर पनि पुर्नमूल्यांकन गरी मूल्य बढाएर शेयर बिक्रि गर्ने र सर्वसाधारण लगानीकर्ता अत्त्याधिक जोखिममा पर्न सक्ने भएकाले त्यस्ता अवस्था आउन नदिने गरि कार्यसम्पादन गर्न धितोवोर्डलाई निर्देशन दिएको छ ।
बीमा कम्पनीहरुलाई प्रीमियममा सेयर बिक्री गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिनु बीमा ऐनको विपरीत भएकाले सो कार्यलाई सच्चाउन बीमा प्राधिकरणलाई निर्देशन दिइएको पनि समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो ।
बैठकले धितोपत्र बजारमा गैरआवासीय नेपालीले समेत लगानी गर्न पाउने गरी कानुनी व्यवस्थापन गर्न गराउन अर्थमन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिएको उहाँले बताउनुभयो । बैठकले विभिन्न ११ वटा निर्देशन दिएको छ ।
