काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे लापरबाहीका कारण बालकुमारी घटना भएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद् थापाले मन्त्री ज्वालाले आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु उहाँकाे लापरबाही भएको बताउनुभयाे ।
आन्दोलनबारे जानकारी हुँदाहुँदै पनि मन्त्री ज्वाला त्यस क्षेत्रकाे बाटाे हुँदै जानु गलत रहेकाे उहाँले बताउनुभयाे । बालकुमारी घटनामा मन्त्रीकाे लापरबाहीबारे समिति बाेल्नुपर्ने समेत सांसद् थापाले बताउनुभयाे । 'त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो, चरम लापरवाही हो, हेपेको हो, सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ, त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो, यो समितिले मन्त्रीको लापरबाही हेर्छ कि हेर्दैन ?'- उहाँकाे प्रश्न छ ।
सांसद् थापाले दु:खद प्रकरण कहाँ गएर टुंगिन्छ भन्ने आँकलन गर्न नसकिने बताउनुभयाे । २ जना नाैजवान गुमाउनुकाे पीडा उसकाे परिवार एक्लैले बाेक्नुपर्ने कुरा यसअघिका घटनाक्रमले पनि पुष्टि गरिसकेकाे उहाँले बताउनुभयाे ।
याे घटनासँग जाेडिएर अर्काे घटना हुन नदिन युवाहरु पनि सचेत हुनुपर्ने सांसद् थापाले बताउनुभयाे । मन्त्रिपरिषद्ले बनाएकाे न्यायिक समितिले न्यायिक छानबिन कसरी ढंग्याउँछ भन्ने कुरामा ध्यान दिनुपर्ने पनि उहाँले बताउनुभयाे ।
जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्ने कुरा उठेकाे भन्दै सांसद् थापाले याे कुरा जिम्मेवार राजनीतिक नेतृत्वकाे नैतिकताकाे विषय भएकाे बताउनुभयाे ।
माइतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न पनि उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गर्नुभयाे । माइतीघरमा निषेधित क्षेत्र ताेक्दा त्यहाँ हुन सक्ने प्रदर्शनले अन्य घटना निम्त्याउन सक्ने भन्दै सांसद् थापाले यसबारे गम्भीर हुन र निर्णय खारेज गर्न गृहमन्त्रीसँग आग्रह गर्नुभयाे ।
