काठमाडौं । प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले वर्तमान गठबन्धन सरकार पूर्ण रूपमा असफल भइसकेको बताउनुभएको छ ।
बालकुमारीमा दुई जना युवा मारिएको घटनाको बारेमा सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था समिति बैठकमा बोल्दै श्रेष्ठले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असक्षम साबित भएको बताउनुभयो । सरकारले मुलुकमा सुशासन दिन नसकेको उहाँको भनाइ छ । ‘समग्रतामा वर्तमान सरकार निकम्मा, नालायक, असफल भइसकेको छ, एक वर्ष मुलुकको समय बरबाद भयो, अब बाँकी फेरी कति दिन जाने हो, आउने परिणाम यस्तै हो, आकस्मिक हुँदैन’, उहाँले भन्नुभयो ।
श्रेष्ठले सिंहदरबारमा आगो लाग्दा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले राजीनामा दिनुभएको स्मरण गराउनुभयो । दशरथ रंगशालामा हावा हुरी चल्दा भाग दौडमा मानिस मारिएको घटनामा खेलकुद मन्त्री केशरबहादुर विष्टले राजीनामा दिनुभएको लगायतका उदाहरण उहाँले प्रस्तुत गर्नुभयो । बहुदल प्राप्ति पछि पनि अन्य विभिन्न मन्त्रीदेखि शेरबहादुर तामाङसम्मले नैतिकताको आधारमा राजीनामा दिनुभएको उहाँले बताउनुभयो । आफूले व्यवहारमा गर्ने कुरा भएको उहाँको भनाइ छ ।
उहाँले दोष जति प्रहरी प्रशासनलाई थुपारेर सरकार उम्किन नमिल्ने बताउनुभयो । सो घटनाको सम्पूर्ण रूपमा जिम्मेवारी सरकार भएको श्रेष्ठले दाबी गर्नुभयो । सरकार निकम्मा भइसकेकोले प्रधानमन्त्रीले नै राजीनामा दिनु राम्रो हुने उहाँको सुझाव छ ।
बालकुमारीमा झडप भइरहेको ठाउँमा जानु हुँदैन भन्ने थाहा पाउँदा पाउँदै मन्त्री प्रकाश ज्वाला पुग्नुभएको उहाँको भनाइ छ । मान्छे मार्ने तहसम्मको घटना गराउन मन्त्री ज्वाला प्रमुख जिम्मेवार रहेको उहाँले बताउनुभयो । जिम्मेवार मन्त्रीको हैसियतले सबैभन्दा पहिला गृह मन्त्रीले राजीनामा दिनु पर्ने उहाँले प्रष्ट पार्नुभयो । युवा माथि गोली बर्साएर दिनदहाडै हत्या गर्ने कार्यकारीले यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।
शुक्रबार इपीएस मार्फत कोरिया जाने परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै शुक्रबार विद्यार्थीले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई युवाको ज्यान गएको थियो । विद्यार्थीको आन्दोलन भइरहेको ठाउँमा पुगेर मन्त्री ज्वालाले स्थिति भड्काए पछि युवा आक्रोशित हुँदा भिड नियन्त्रणको लागि भन्दै प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाएर युवाको ज्यान लिएपछि युवाहरूले मन्त्री ज्वाला चढेको गाडी पनि जलाइदिएका थिए ।
