काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बाेल्दै सांसद् कार्कीले मन्त्री बस्नेतले निर्माण नै नभएका आधारभूत अस्पतालहरूको सामान खरिद प्रकरणमा करोडौंको चलखेल गरिरहेको बताउनुभयाे ।
मन्त्री बस्नेतले निर्माण नै नसकिएका आधारभूत अस्पतालका लागि उपकरण खरिद गर्ने, आफू निकटका व्यापारीमार्फत उपकरण खरिद गर्ने, आवश्यक परेका अस्पतालमा दरबन्दी थप्न चासाे नदेखाउने, अनावश्यक सामग्री खरिदमा मात्र ध्यान दिने काम गर्नुभएकाे उहाँले बताउनुभयाे ।
मन्त्री बस्नेतले जनताकाे स्वास्थ्यमाथि खेलवाड गरिरहेकाे समेत सांसद् कार्कीले बताउनुभयाे । ०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन फेरी मन्त्री बनाएको भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे ।
मन्त्री बस्नेतबाट स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि निर्देशन दिन समेत सांसद् कार्कीले समितिसँग माग गर्नुभयाे । 'समितिले स्वास्थ्यमन्त्रीलाई बाेलाएर स्पष्टिकरण माग्ने हाे कि, जवाफ माग्ने हाे कि, अथवा याे छानबिन प्रक्रियालाई निष्पक्ष हुन दिनका लागि उहाँले नैतिकताका आधारमा याे पदबाट हट्नुपर्ने हाे याे निर्णय गर्नुपर्छ, हाेइन भने ठूलाे दुर्घटना हुन सक्छ, मन्त्रीकाे गतिविधि गलत देखिएकाे छ, यी मन्त्रीलाई पदबाट हटाउन समितिले सुझाव दिनुपर्छ'- उहाँले भन्नुभयाे ।
पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहनुभएकी सांसद् कार्कीले मन्त्री बस्नेतका मनोमानी र अनैतिक कामहरूको सूची निकै लामो भएकाे समेत बताउनुभयाे । वीर अस्पतालका बिरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौती गरेकाेमा मन्त्री बस्नेतप्रति उहाँले आपत्ति जनाउनुभयाे ।
विभिन्न अस्पतालमा सिटी स्क्यान मेसिन खरिदमा पनि चलखेल भएकाे कुरा आइरहेकाे समेत सांसद् कार्कीले बताउनुभयाे ।
