काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० बारे नेपाल शिक्षक महासंघ छलफल गरेकाे छ ।
सिंहदरबारमा बुधबार बसेकाे बैठकमा समितिले नेपाल शिक्षक महासंघसँग विधेयकमाथि छलफल गरेकाे हाे । साे विधेयक समितिमा विचाराधीन छ ।
बैठकमा महासंघका अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायतले विद्यालय शिक्षालाई समयानुकुल बनाउन सुझाव दिनुभएकाे थियाे । उहाँहरुले यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समिति समेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने तथा छुटेका थप विषयलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँहरुले स्थानीय तहबाट शिक्षक नियुक्तिको प्रस्ताव हटाउने लगायत ६१ बुँदे थप माग प्रस्तुत गर्दै शिक्षकको ट्रेड युनियन अधिकारको रक्षाका साथै राजनीतिक आस्थाका आधारमा विभेद गर्न नहुने बताउनुभयाे ।
बैठकमा महासंघका अध्यक्ष तुलाधरले शिक्षकहरुले आफ्नो पारिश्रमिकमा मात्रै ध्यान दिएको भन्ने कुरा उचित नभएको बताउनुभयाे । मुलुकको शिक्षालाई आमूल परिवर्तन गर्नका लागि ऐनलाई समयानुकुल बनाउनुपर्ने उहाँले बताउनुभयाे । अध्यक्ष तुलाधरले विद्यालयमा स्रोत जुटाउनका लागि कानुनमै व्यवस्था हुनुपर्ने सुझाव दिनुभयाे । शिक्षकलाई कारबाही गर्ने कुरा स्थानीय सरकारलाई दिँदा आग्रह-पूर्वाग्रह देखिन सक्ने समेत उहाँले सुझाव दिनुभयाे । शिक्षक बनाउने कुरामा पनि योजनागत रुपमा अघि बढ्न नसके शिक्षकहरु नै देश बाहिरबाट ल्याउने अवस्था आउन सक्ने चेतावनी समेत अध्यक्ष तुलाधारले दिनुभयाे ।
समितिले अर्को बैठकमा नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन लगायतसँग विधेयकका सम्बन्धमा छलफल गर्ने जनाएको छ ।
प्रतिनिधि सभामा गत असोज २१ गते सैद्धान्तिक छलफलपछि दफाबार संशोधनका लागि विधेयक समितिमा पठाइएको थियो ।
