काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय दूतावासबाट सोझै खर्च गर्न मिल्ने २० करोड रुपैँयासम्मका योजना विगतकै निरन्तरता भएको दाबी गर्नुभएको छ ।
यसअघि ५ करोडसम्म खर्च गर्न दिँदै आइएकोमा अहिले अहिले त्यसलाई बढाएर २० करोड मात्र बनाएको उहाँले बताउनुभयो । बुधबार प्रतिनिधि सभा कानुन समितिको बैठकमा बोल्दै प्रचण्डले यसमा कुनै तात्त्विक भिन्नता नभएको दाबी गर्नुभयो । भारतीय दूतावास मार्फत सोझै रकम खर्च गराउने कुरामा सबै सरकार संलग्न रहेका प्रचण्डको जिकिर छ ।
उहाँले यस्ता आयोजना भारतले मात्र होइन अन्य देशले समेत नेपालमा सोझै सञ्चालन गरिरहेका दाबी गर्नुभयो । विभिन्न देशले राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संस्था र यूएन एजेन्सी मार्फत त्यस्ता आयोजना सञ्चालन भइरहेका उहाँले बताउनुभयो । ‘त्यस कारण यो सम्झौता बारे हामीले धेरै तनाव लिनु पर्ने स्थिति छैन, नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिने अधिकार नेपालसँग नै छ’, उहाँले भन्नुभयो ।
भारतलाई विद्युत् बेच्ने कुरा गरी भएको सम्झौतामा भारतले उत्पादन गरेको बिजुली मात्रै लैजान कुरा नभएको पनि उनले स्पष्टीकरण दिनुभयो । जताबाट उत्पादन भएको भए पनि १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने सहमति भएको उहाँले बताउनुभयो ।
भारतसँग नेपालको आर्थिक विकासको अपेक्षालाई सम्बोधन गर्ने बाहेक अन्य कुनै पनि गलत सम्झौता नभएको उहाँले दाबी गर्नुभयो । नेपालले भारतसँग आफ्नो पोजिसनलनाई दह्रोसँग स्थापित गरेको उहाँले बताउनुभयो ।
