काठमाडाैं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई लिएर एमाले विरुद्ध गलत प्रचार नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएकाे छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाकाे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाेल्दै सचेतक बर्ताैलाले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न सत्तापक्षलाई चेतावनी दिनुभयाे ।
टीआरसी विधेयक पीडितलाई न्याय दिनेगरी आउनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेकाे जानकारी गराउँदै उहाँले गहन छलफल गरेर सहमतिमै विधेयक टुंग्याउन सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।
एमालेले असहमति जनाएका विषयलाई लिएर सरकारले एमालेले काम गर्न दिएन भन्ने गलत प्रचार गरेको भन्दै सचेतक बर्ताैलाले पक्रियागत रुपमा पीडितलाई न्याय हुनेगरी विधेयक अगाडि बढाउन आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे - 'हिजो टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुरजी पनि र तोकिने पुष्पकमल दाहालज्यु पनि सरकारमा हुनुहुन्छ, सरकारबाट मिलेर बनाए भन्ने भ्रम जनता नपरोस्, त्यसमा हामी सचेत छौँ, गहन छलफल गरेर नै टुंग्याऔँ, विधेयक निर्माणको प्रक्रियामा आफू अघि बढ्न सक्नुहुन्छ, एमालेले रोकिरहेको छ भन्ने प्रचार गर्दै हुनुहुन्छ, यो गलत छ ।'
आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले देश, जनता, पीडित र समग्र शान्ति प्रक्रियाको विषय उठाएको भन्दै सचेतक बर्ताैलाले त्यसलाई विधेयक निर्माणमा अवरोध गरेको भनेर नबुझ्ने आग्रह गर्नुभयाे ।
टीआरसीको विषय साझा भएको भन्दै उहाँले विधेयक निर्माणको प्रक्रिया अनुसार एमाले अगाडि बढ्ने तरअवरोध नगर्ने प्रष्ट पार्नुभयाे । सचेतक बर्ताैलाले भन्नुभयाे - 'यि विषयहरू हामी सहमतिमा टुंग्याउन सक्छौं, यदी भएन भने बिल निर्माणको आफ्नै प्रक्रिया छ, प्रक्रियामा हामी र हाम्रा भनाइहरु रहन्छन्, यो कुरा म फेरि पनि भन्न चाहन्छु ।'
विधेयकमा स्पष्ट पारिनुपर्ने ४ वटा विषयमा थप छलफल र स्पष्ट नपारी आफूहरु पूर्ण सहमत हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयाे ।
