काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्न नहुने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बैठकमा बाेल्दै अध्यक्ष शर्माले हाल कायम रहेको कक्षा १० को एसइई परीक्षा आवश्यक रहेकाले यसलाई खारेज गर्न नहुने बताउनुभयाे ।
एसइई खारेज गरिए नेपालको शिक्षाको गुणस्तर झनै खस्किँदै जाने उहाँले बताउनुभयाे । एसईई खारेज गर्दा १२ कक्षा पास गर्ने विद्यार्थीको संख्या घट्न सक्ने र अन्तर्राष्ट्रियस्तरमा पनि नेपालको शैक्षिक क्षेत्रमा प्रश्न उठ्न सक्ने भन्दै अध्यक्ष शर्माले यसलाई खारेज नगर्न सुझाव दिनुभयो ।
प्रस्तावित विधेयकमा कक्षा ८ मा स्थानीय तह र १२ को परीक्षा केन्द्रीय बोर्डले गर्ने उल्लेख छ । अध्यक्ष शर्माले हाल सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षालाई बोर्डले नभई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने बताउनुभयो । अहिले कक्षा १० र १२ को परीक्षाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरेको भन्दै उहाँले परीक्षालाई व्यवस्थित तवरले सञ्चालन गर्न सकिने बताउनुभयो ।
अध्यक्ष शर्माले एउटै शैक्षिक क्यालेण्डर र पाठ्क्रमका आधारमा हुने परीक्षाको मापदण्ड सबै पालिकामा समान हुनुपर्ने बताउनुभयो ।
समितिले पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको हो । अर्को बैठकमा विभिन्न विद्यार्थी संघ-संगठनसँग विधेयकका सन्दर्भमा छलफल हुने समितिले जनाएको छ ।
