काठमाडौं । नेकपा एमालेकाे विद्यार्थी संगठन खिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षा क्षेत्रमा निजी लगानी बन्द गरिनुपर्ने बताएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाकाे शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिकाे बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बाेल्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले विद्यालय शिक्षामा निजी लगानी बन्द हुनेगरी कानुन आउनुपर्ने बताउनुभयाे ।
निजी विद्यालय खोल्न प्रोत्साहन गर्ने गरी विधेयक आएको भन्दै उहाँले संशोधन गर्नुपर्ने बताउनुभयाे । कम्पनीमा रहेका निजी शिक्षण संस्थालाई निश्चित अवधि तोकेर गुठीमा लैजाने प्रावधान विधेयकमा राख्न अध्यक्ष बडालले सुझाव दिनुभयाे । उहाँले कम्पनीबमोजिम स्थापना भएका विद्यालयलाई निश्चित अवधि तोकेर सार्वजनिक शैक्षिक गुठीमा रुपान्तर हुने बाध्यात्मक व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो ।
शिक्षकको हकमा अहिलेको अवस्थामा नै शिक्षक पाउन गाह्रो भईरहेको अवस्थामा विधेयकमा उल्लेख भए अनुसार गरिए झन् समस्या हुनेपनि उहाँले बताउनुभयाे ।
सार्वजनिक पद-क्षेत्रमा रहेकाहरूका छोराछोरीको हकमा अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था अनिवार्य रूपमा विधेयकमै राख्नुपर्ने सुझाव अध्यक्ष बडालले दिनुभयाे ।
विद्यालय शिक्षाको पाठ्यक्रम मौलिकता झल्काउने खालको हुनुपर्ने उहाँकाे भनाइ थियाे ।
