काठमाडाैं । संसदीय समितिले टेरामक्स र एमडीएमएससम्बन्धी सम्पूर्ण कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडीएमएस सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय, खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्य लगायत विषयका कागजात बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका फैसला समेत मगाइ विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको छ ।
बैठकले टेरामक्स र एमडीएमएस खरिद गर्दा र अहिलको अवस्थामा त्यसको औचित्यका बारेमा दृष्टिकोण पेस गर्न पनि निर्देशन दिएको समिति सभापति भानुभक्त जोशीले बताउनुभयाे ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेरामक्स र एमडीएमएस प्रणालीका बारेमा यसअघि भएका निर्णयबारे अध्ययन भइरहेको बताउनुभयाे । टेरामक्स र एमडीएमएस कार्यान्वयनमा अनियमितता भएको देखिए छानबिनका लागि सरकारले सहयोग गर्ने उहाँले बताउनुभयाे ।
समिति सदस्यहरुले देशलाई आर्थिक भार पर्ने गरि टेरामक्स र एमडीएमएसको कार्यान्वयन नगर्ने निकायलाई कारवाही गर्नुपर्ने बताएका थिए । समिति सदस्य सुमना श्रेष्ठले टेरामक्स र एमडीएमएसमा कुनै निकाय भन्दा पनि सरोकारवाला सवै निकाय दोषी हुने बताउनुभयाे । उहाँले टेरामक्समा मुछिएका व्यक्तिहरु नै अहिलेको मन्त्रिपरिषद्मा रहेकाले छानविन प्रभावकारी हुनेमा आशंका गर्नुभयाे ।
समिति सदस्य विद्या भट्टराईले दुरसञ्चार प्राधिकरणलाई मात्रै देखाएर सञ्चार मन्त्रालय पन्छिन नमिल्ने बताउनुभयाे । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको एमडीएमएस र टेरामक्स प्रणालीबारे समितिले बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग छलफल गरेको हो ।
