काठमाडाैं । राष्ट्रिय महिला आयोगले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउन सरकारलाई आग्रह गरेकाे छ ।
आइतबार सिंहदरबारमा बसेकाे प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बाेल्दै आयाेगका अध्यक्ष कमला पराजुलीले विद्यालय तहको शैक्षिक पाठ्यक्रमलाई लैंगिकमैत्री बनाउनुपर्ने बताउनुभयाे ।
विद्यालय तहको पाठ्यक्रममा यौन, प्रजनन स्वास्थ्य र लैंगिकताका विषय अनिवार्य रुपमा नै समावेश गर्न उहाँले सुझाउनुभयाे । अध्यक्ष पराजुलीले विद्यालय व्यवस्थापन समितिमा समानुपातिक संख्यामा महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने पनि बताउनुभयाे ।
अन्य आयोगका प्रतिनिधिहरुले विद्यालय तहमा पाठ्यक्रममा सबै जातजाती भेषभुषाको ज्ञान हुने गरी विकसित गर्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा आदिवासी जनजाति आयोगका आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको ज्ञान र सीप सम्बन्धी छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक भएको बताउनुभएकाे थियाे ।
समितिले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा आज दलित आयोग, आदिवासी जनजाति आयोग, महिला आयोग, मधेशी आयोग लगायतसँग सुझाव लिएकाे हाे ।
