काठमाडाैं । सभामुख देवराज घिमिरेले संसद्काे हिउँदे अधिवेशनमा राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर पारित गर्नुपर्ने बताउनुभएकाे छ ।
आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले विधेयकहरु पारित गरेर कार्यान्वयन गर्नेगरी अघि बढ्नुपर्ने बताउनुयभाे ।
उहाँले संसदीय गतिविधिलाई क्यालेण्डरका आधारमा अगाडि बढाइने बताउनुभयाे । सुरुमा १५ दिनको क्यालेण्डर कार्यान्वयन गर्ने र त्यसको प्रभावकारीताका आधारमा अन्य दिनको पनि क्यालेण्डर बनाउँदै अघि बढ्ने सभामुख घिमिरेले बताउनुभयो ।
संसद्काे यही अधिवेशनमा प्रि-बजेट छलफल गर्न सरकारले आवश्यक परामर्श गरिरहेको पनि उहाँले बताउनुभयाे । हाल संघीय संसद्मा २४ विधेयक विचाराधीन छन् । तीमध्ये १५ विधेयकमाथि संसदीय समितिमा दफावार छलफल भइरहेको छ ।
सोमबारदेखि सञ्चालन हुने संघीय संसद्को हिउँदे अधिवेशनको तयारीबारे जानकारी लिन सभामुख घिमिरे संसद् भवन पुग्नुभएकाे हाे । उहाँले अधिवेशनको तयारीबारे संसद् सचिवालयका कर्मचारीसँग जानकारी लिनुभएकाे थियाे । बैठक कक्षकाे प्राविधिक र भाैतिक व्यवस्थापनको पनि सभामुख घिमिरेले निरीक्षण गर्नुभएको थियो ।
