काठमाडाैं । भाेलि बस्ने संघीय संसद् बैठककाे सम्भावित कार्यसूची सार्वजनिक भएकाे छ ।
संघीय संसद् सचिवालयले भाेलि अपरान्ह ४ बजे बस्ने संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठककाे सम्भावित कार्यसूची आज सार्वजनिक गरेकाे हाे ।
प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा पनि पढेर सुनाउनुहुनेछ ।
बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्नुहुनेछ ।
हेर्नुस् कार्यसूची:
राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ । उहाँले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुनेछ ।
अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा पनि पढेर सुनाउनुहुने संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ काे संशाेधन मस्याैदा समितिका सभापति सुरेशकुमार आलेमगरले 'राष्ट्रिय सभा नियमावली,२०७५ काे संशाेधन मस्याैदा समितिकाे प्रतिवेदन २०८० सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलाे संशाेधन) अध्यादेश,२०८० सभासमक्ष पेस गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्नुहुनेछ ।
