काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् जनताको सार्वभौमसत्ता प्रयोग गर्ने महत्त्वपूर्ण थलो भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको तेस्रो अधिवेशन शुभारम्भ गर्दै सभामुख घिमिरेले संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणको साथै सरकारको गठन र नियन्त्रण गर्ने तथा जनसरोकारका मुद्दा सम्बोधन गर्न सरकारलाई निर्देशन दिने भएको स्मरण गराउनुभयो । विगतका दुईवटा अधिवेशनमा ऐन निर्माणमा सङ्ख्यात्मक उपलब्धि धेरै प्राप्त नभए पनि गृहकार्यमा भने धरै प्रगति भएको घिमिरेले बताउनुभयो ।
चालु अधिवेशनमा मुलुकलाई आवश्यक पर्ने कनुन् बनाउने र संसद्लाई गतिशील बनाउन प्रण गर्नुपर्नेमा घिमिरेले जोड दिनुभयो । राष्ट्रका साझा मुद्दामा प्रतिनिधि सभामा नेतृत्व गर्ने दलमा एकमत हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
लोकतन्त्रलाई बलियो बनाउन विधिको शासन, पारदर्शिता र जबाफदेहिता आवश्यक रहेको घिमिरेले बताउनुभयो । ‘विधिको शासन, पारदर्शिता र जबाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्थम्भ हुन्’, उहाँले भन्नुभयो ।
संसदमा अवलम्बन गरिने विधि र प्रक्रियालाई परिष्कृत र उन्नत बनाउन सामूहिक प्रतिबद्धता जरुरी हुने उहाँले प्रष्ट पार्नुभयो । संसद्लाई प्रभाकारी र जीवन्त बनाउन यस पटकबाट नयाँ अभ्यास सुरु गरिएको उहाँले बताउनुभयो ।
संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसद् प्रतिको विश्वास र भरोसा सुधार हुँदै जाने उहाँले बताउनुभयो । उहाँले जनता सबैभन्दा माथि हुने भएकोले जनताको सुझाव अनुसार संसद्का गतिविधिलाई सुधार गर्दै लैजान जरुरी रहेको धारणा राख्नुभयो
