काठमाडाैं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले संघीय संसद्काे महासचिवकाे विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै नेता दाहालले संसद्काे महासचिवमा राष्ट्रपति पाैडेलले राजनीति गरेकाे बताउनुभयाे । महासचिव पद खाली रहने र अधिवेशन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
राष्ट्रपति पौडेललाई महासचिव पदमा चलखेल नगर्न चेतावनी दिँदै नेता कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्व नियुक्त गर्न आग्रह गर्नुभयाे । 'हामीले कस्तो राष्ट्रपति पायौँ ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू अब तपाइँको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसद्को महासचिवमा तपाइँको चलखेल किन ? हामीलाई कानुनअनुसार सिफारिस गरिएको महासचिव अविलम्ब दिनुहाेस्'- उहाँले भन्नुभयाे ।
आगामी बैठकहरुमा राष्ट्रपतिको बारेमा कडा शब्द प्रयोग गर्नुपर्ने स्थिति नबनाउन चेतावनी दिँदै नेता दाहालले राष्ट्रपति पदको गरिमालाई कामय राख्न आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे - 'आगामी बैठकमा राष्ट्रपति विरुद्ध कडा शब्द प्रयाेग गर्न नपराेस् ।'
