काठमाडाैं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारका मन्त्रीहरु काम भन्दा पनि स्टन्टबाजीमा लागेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै नेता रायमाझीले अहिले स्टन्टबाजी गर्ने बेला नभएर काम गरेर देखाउने बेला भएकाे बताउनुभयाे ।सरकारका कामकारबाहीले गति लिन नसकेकाे भन्दै उहाँले सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलकाे नक्कल गरेर स्टन्टबाजी गरिरहेका बताउनुभयाे ।
नेता रायमाझीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बस्नेतले त अलि बढी नै नाैटंकी देखाएकाे आराेप समेत लगाउनुभयाे । 'यो स्टन्ट गर्ने बेला होइन, हामी स्टन्ट गरिरहेका छौं, हामीले नयाँ आएका पार्टीहरुले जस्तै स्टन्ट गरिरहेका छाैं, नक्कल गरिरहेका छाैं, सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो, नाटक गर्ने होइन, नौटंकी गर्ने होइन, नौटंकी बढी भयोजस्तो लाग्छ, स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ, आजकाल गृहमन्त्रीज्यूको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो'- उहाँले भन्नुभयाे ।
आफूले यसअघि गृहमन्त्रीकाे प्रशंसा गरेकाे स्मरण गर्दै उहाँले अहिले गृहमन्त्री श्रेष्ठ काम भन्दा पनि चर्चा-परिचर्चामा लागिरहेकाे आफूले पाएकाे बताउनुभयाे । 'मैले यही राेस्टमबाट गृहमन्त्रीज्यूको प्रशंसा गरेको थिएँ, तर कामभन्दा आजकाल चर्चा-परिचर्चा बटुल्न लागेको हो कि जस्तो लागेको छ, यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा, यसले केही हुँदैन, हामीले इतिहास लेख्ने हो' - नेता रायमाझीले भन्नुभयाे ।
सरकारका मन्त्रीहरुले सांसद्हरुलाई भेट नदिएकाे भन्दै उहाँले आक्राेश व्यक्त गर्नुभयाे । सांसद्काे कुरा सुन्न र प्रधानमन्त्रीकाे निर्देशन मान्न पनि उहाँले मन्त्रीहरुलाई आग्रह गर्नुभयाे ।
नारायणगढ-बुटवल सडकमा ज्यान मारेर हिँड्नुपर्ने अवस्था रहेकाे, मधेश प्रदेशका बाटाकाे अवस्था पनि त्यस्तै रहेकाे निर्माण व्यवसायीले भुक्तानी नपाएकाे अवस्था रहेकाे नेता रायमाझीले बताउनुभयाे ।
जनताले सुध्रिन आग्रह गरिरहेका भन्दै उहाँले दलहरु सुध्रिनुकाे विकल्प नरहेकाे बताउनुभयाे ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले सरकारमा जान नपाएर छटपटाइरहेकाे आराेप पनि नेता रायमाझीले लगाउनुभयाे । एमाले प्रतिपक्षमा भएपछि गठबन्धनलाई अपवित्र भन्ने गरेको आराेप पनि उहाँले लगाउनुभयाे ।
