काठमाडाैं । संघीय संसद्को महासचिवमा पद्म प्रसाद पाण्डेय नियुक्त हुनुभएकाे छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे संयुक्त सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई मंगलबार संसद्काे महासचिवमा नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत साे जानकारी दिएकाे छ । 'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू र राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिव्दिकोट गाउँपालिका -१, पाल्पा जिल्ला निवासी श्री पद्म प्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसदको महासचिव पदमा नियुक्त गर्नुभएको छ'- विज्ञप्तिमा उल्लेख छ ।
प्रतिनिधि सभाका सचिव रहनुभएका पाण्डेयलाई यसअघि संघीय संसद्को कार्यवाहक महासचिवकाे जिम्मेवारी दिइएकाे थियाे । पाण्डेयले आजै सचिव पदबाट राजीनामा दिनुभएकाे थियाे ।
उहाँकाे सचिव पदकाे राजीनामा स्वीकृत गरेर राष्ट्रपति पाैडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गर्नुभएकाे हाे । पाण्डेयले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मंगलबार राजीनामा दिनुभएकाे थियाे ।
प्रतिनिधि सभाका सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाका सचिव पाण्डेयलाई संघीय संद्काे महासचिवमा नियुक्तिका लागि मंसिर २३ गते संयुक्त सिफारिस गर्नुभएकाे थियाे । तर राष्ट्रपति पाैडेलले करिब २ महिना सिफारिस राेकेर राख्नुभयाे । आज मात्रै उहाँले नियुक्त गर्नुभयाे ।
संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि साे पद रिक्त थियाे ।
