काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसद्काे कार्यतालिका बनाउँदैमा संसद् व्यवस्थित नहुने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै प्रमुख सचेतक गिरीले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउने कुरामा सरकारकाे मुख्य भूमिका हुने बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हामीले कार्यतालिका बनाउँदैमा संसद् व्यवस्थित रुपमा अगाडि बढ्छ भन्ने हुँदैन, संसद्का बैठकहरु प्रभावकारी हुन्छन् भन्ने पनि हाेइन, यसमा सरकारले सहयाेग गर्नुपर्याे, शून्य र विशेष समयका लागि मात्र बैठक आयाेजना गर्ने, सरकारले समयमा बिधेयक नदिने, बिजनेस नदिने हाे भने कार्यतालिकाले मात्र केही हुनेवाला छैन, त्यसकारण यसमा सरकार जवाफदेही हुनुपर्छ, यसतर्फ सरकार जिम्मेवार हुनुपर्छ ।'
गठबन्धन सरकारका कारण देशकाे अवस्था कहालीलाग्दाे रहेकाे प्रमुख सचेतक गिरीले गठबन्धन सरकारका कारण जनतामा निराशा छाएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'देशकाे अवस्था कहालीलाग्दाे छ, जनतामा निराशा छाएकाे छ, वर्तमान सरकारबाट जनताले आशा गर्ने ठाउँ कहीँपनि भेट्न सकेका छैनन्, त्यही भएर युवाहरु देश छाेडेर विदेश भाग्ने क्रम बढेकाे छ ।'
यस यथार्थकाे जगमा उभिएर समीक्षा गर्नुपर्ने प्रमुख सचेतक गिरीले बताउनुभयाे । उहाँले संसद्काे अघिल्लाे अधिवेशनमा १ वर्षमा पनि जनताका सराेकारका विषय, संविधानसँग सम्बन्धित एेन कानुन निर्माणकाे विषय, सुशासन, राष्ट्रिय हित, समृद्धिका कुरामा जुन ढंगले अगाडि बढाउनुपर्नेमा त्यसाे हुन नसकेकाे बताउनुभयाे । त्यही कारणले पनि जनतामा निराशा छाएकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे ।
सरकारकाे गैरजिम्मेवारीपनका कारण १ वर्षमा एउटा मात्र कानुन दिन सकिएकाे उहाँले बताउनुभयाे । विगतमा समिति गठनकाे काम पनि सरकारकै कारण गर्न नसकिएकाे बताउनुभयाे ।
संसद्काे कार्यतालिका बनाउँदैमा संसद् व्यवस्थित हुन्छ भन्ने नभएकाे भन्दै उहाँले संसद्लाई प्रभावकारी बनाउन सरकारकाे हात हुने बताउनुभयाे ।
एमाले हरेक कुरामा स्पष्ट रहेकाे भन्दै उहाँले कानुन निर्माणका सबालमा एमाले सम्पूर्ण रुपमा केन्द्रित हुने बताउनुभयाे । यसमा सरकारलाई सघाउन एमाले तयार रहेकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे ।
विकास र समृद्धिका एजेण्डा ओझेलमा परेका भन्दै उहाँले ती विषय छलफलकाे एजेण्डा बनाउनुपर्ने बताउनुभयाे । जनतालाई आशा जगाउने काममा एमाले लाग्ने गिरीले बताउनुभयाे ।
देशकाे अर्थतन्त्र ध्वस्त अवस्थामा रहेकाे उहाँले बताउनुभयाे ।
