काठमाडाैं । नेपाली कांग्रेसका सांसद् गगन थापाले काम गर्ने शैली बदल्न सरकारलाई सुझाव दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् थापाले देशमा देखिएका समस्या समाधानका लागि पहल लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयाे
निर्देशनले मात्र केही पनि नहुने भन्दै उहाँले प्रधानमन्त्रीले निर्देशन दिएकाे निर्देशन देखेर मन्त्रीले, मन्त्रीकाे देखेर संसदीय समितिले पनि निर्देशन दिने काम भएकाे बताउनुभयाे ।
समस्याको समाधान खोज्नका निम्ति अतिरिक्त पहलकदमी चाहिएको भन्दै सांसद् थापाले अहिले सरकारप्रति जनताकाे भराेसा हराइरहेकाे पनि बताउनुभयाे । सबै क्षेत्रप्रति जनताकाे विश्वास गुम्दै गएकाे भन्दै उहाँले यसका निम्ति सबैभन्दा धेरै जिम्मेवारी सरकार सञ्चालन गर्नेकाे रहेकाे बताउनुभयाे ।
देशकाे अर्थतन्त्र खराबै रहेकाे, जनतामा निराशा र आक्राेश छाएकाे, सरकारप्रति जनताकाे विश्वास गुम्दै भन्दै सांसद् थापाले शैली बदलेर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीले त्यो सिंहदरबार भित्र प्रधानमन्त्रीको कुर्सीमा बसेर दिनको १० देखि ५ बजेको समय जसरी कुनै एउटा संस्थाको प्रमुखले संस्थाको नेतृत्व गरेको हुन्छ, दिनको निश्चित समय आफूले दिएको जिम्मेवारी भन्दा बाहेक अरु कुनै जिम्मेवारीको चिन्तन गर्दैन सोच्दैन, त्यसैलाई पाथमिकता राख्छ, नेपालको प्रधानमन्त्रीले पनि त्यसरी नै काम गर्नुपर्छ, त्यसपछि मात्रै त्यो उपलब्ध भएको समयको बीचमा गरिने छलफलले समस्या पनि देखाउँछ, समस्याको पहिचान पनि हुन्छ, समाधान कसरी खोज्ने भन्ने कुरा पनि जान्छ र त्यसैले हामीलाई टुंगोमा पनि पुर्याउँछ, काम गर्ने तरिका नबदलिकन फरक परिणाम आउँदैन, उही काम गरेर फरक परिणाम अपेक्षा गर्ने कुरा मुर्खता मात्रै हुन्छ, त्यसको सुरुआत स्वयंम् प्रधानमन्त्रीबाटै गरिनुपर्छ ।'
सुशासनकाे सवालमा नागरिकमा आक्राेश रहेकाे उहाँले बताउनुभयाे ।
अर्थतन्त्रको संरचनात्मक सुधार आवश्यक रहेकाे भन्दै सांसद् थापाले अर्थतन्त्रका सूचक सकारात्मक रहेपनि अर्थतन्त्र खराब अवस्थामै रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'खास नेपाल चलाउने साथीलाई हामी कहिले पलायन भयाे, भास्सियाे भनेका छाैं, तर म उहाँहरुलाई सम्मान गर्छु, तिनले पठाएकाे मेहनतले आज हाम्राे अर्थतन्त्र चलेकाे छ, तर सरकार यही आँकडा हेरेर मख्ख परेर बस्याे भने हामीहरु डुब्छाैं, बैंकसँग पैसा छ, तर कर्जा लगानी हुँदैन, सबै टाट पल्टेका साना र ठूला व्यसायी, सबै क्षेत्रमा, कहिँ कसैले पनि ठिक भयाे भनेका छैनन्, आन्तरिक अर्थतन्त्रमा ठूलाे शिथिलता आएकाे छ ।'
पुँजीगत खर्च १९ दशमलव मात्र खर्च भएकाे भन्दै उहाँले अहिले कम्तिमा ५० प्रतिशत हुनुपर्ने बताउनुभयाे । पुँजीगत खर्च नभएकै कारण आन्तरिक अर्थतन्त्र शिथिल भएकाे सांसद् थापाले बताउनुभयाे ।
उहाँले जनताका आवश्यकता सानासाना काम र ४० बढी कानुन निर्माण गर्दै अर्थतन्त्रकाे संरचनागत सुधारमा लाग्नुपर्ने बताउनुभयाे । अर्थतन्त्रमा संरचनागत सुधार गर्न नसके अगाडि बढ्न नसकिने सांसद् थापाले बताउनुभयाे । 'संविधान बनिसक्यो, संघीयता आयाे, कुनै अहिले युद्ध र द्वन्द्व छैन, हामी सामान्य अवस्थामा छौँ, यो अवस्थामा पनि हामीले अर्थतन्त्रको संरचनात्मक सुधार गरेनौँ भने कहिले गर्ने त ?'- उहाँकाे प्रश्न छ ।'
सबै सहजता भएकाे अवस्थामा पनि नेपाल संकटमा छ भन्ने हाे भने अगाडि बढ्न नसकिने सांसद् थापाले बताउनुभयाे । पूर्वाधारहरु समयमै सम्पन्न हुन नसकेका भन्दै उहाँले कानुन लागू गरेर र बदलेर भएपनि काम गर्नुपर्ने बताउनुभयाे ।
सहजता भएकाे अवस्थामा पनि नेपाल संकटमा छ भन्ने हाे भने अगाडि बढ्न नसकिने सांसद् थापाले बताउनुभयाे ।
