काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा काम गरिरहेकाे दाबी गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिन नहुने बताउनुभयाे ।
सरकारले थालेका कामलाई संसद्ले खबरदारी गर्नुपर्ने भन्दै उहाँले सुशासन कायम गर्न सबैले सरकारलाई मद्दत गर्न जरुरी रहेकाे बताउनुभयाे ।सुशासन कायम गर्ने संस्थालाई बलियाे र सुदृढ बनाउनुपर्ने सांसद् शर्माले बताउनुभयाे । 'अहिले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा जुन पहल अगाडि बढाइरहेकाे छ, त्त्यसलाई तीब्र बढाउनका लागि यस संसद्काे सहयाेग र खबरदारी आवश्यक छ, सुशासन स्थापनाका लागि सबैले आफ्नाे ठाउँबाट सहयाेग गर्न जरुरी छ'-उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित नयाँ ढंगले काम गर्ने बताउनुभएकाे भन्दै सांसद् शर्माले ती नीति कार्यान्वयनका लागि राज्यका संरचनाकाे, सबै क्षेत्रकाे काम गर्ने कार्यशैली र इमान्दारीता आवश्यक रहेकाे बताउनुभयाे ।
सामाजिक सुरक्षाकाे क्षेत्रमा पनि सरकारले राम्राे काम गरेकाे भन्दै उहाँले मिटरब्याज पीडितलाई न्याय र नागरिकताबिहीनलाई नागरिकता दिने काम गरेकाे बताउनुभयाे । कानुन कार्यान्वयनकाे विषयलाई राजनीतिकरण गर्न नहुने पनि सांसद् शर्माले बताउनुभयाे ।
१ वर्षकाे अवधिमा साेचेअनुसार कानुन निर्माण हुन नसकेकाे बताउनुभयाे । मानव पुँजी निर्माण गर्ने कानुन बनाउन नसक्दा, संघीयता कार्यान्वयन र स्थानीय तहमा काम गर्न समस्या भइरहेकाे उहाँले बताउनुभयाे ।
लाेकतन्त्रकाे सही उपयाेग र रक्षा गर्ने जिम्मेवारी आफूहरुकाे काँधमा आएकाे बताउनुभयाे ।
नेपालसँग साधन र स्राेत प्रयाप्त भएकाे भन्दै उहाँले तिनकाे उपभाेग गर्न सके आर्थिक विकासमा फड्काे मार्न सकिने बताउनुभयाे ।
