काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित र मुसहर बस्तीमा सर्वदलीय बैठक आह्वान गरी देशमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् लामिछानेले अहिले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक बसिहाल्ने प्रवृत्ति रहेकाे बताउनुभयाे ।
आर्थिक शिथिलता, युवा पलायन, सहकारीका बचतकर्ताको निक्षेप फिर्ता लगायत ५ विषयमा समाधान खाेज्न शीर्ष नेताका घरबाहिर सर्वदलीय बैठक राख्नका लागि पनि उहाँले प्रस्ताव गर्नुभयाे । 'जब भ्रष्टाचारका फाइनल खुल्छन् तब ठूला दलका सर्वदलीय बैठक बस्ने गर्छन्, संसद्लाई काम गर्ने र कानुन बनाउने थलाे बनाउने हाे भने एउटा सर्वदलीय बैठककाे प्रस्ताव गर्न चाहान्छु - भ्रष्टाचारकाे फाइल खुल्दा र नियुक्तिका लागि भागबण्डा गर्नका लागि जस्ताे हाेइन, त्याे बैठक बुढानिलकण्ठकाेआलिशान बैठक काेठामा हाेइन, खुमलटारकाे घरबेटीकाे घरमा पनि हाेइन, बालकाेटकाे बार्दलीमा पनि हाेइन, बालुवाटारकाे वातानुकूलित बिलासी बैठकस्थलमा हाेइन, दलित मुसहर बस्तीमा राखाैं'- सभापति लामिछानेले भन्नुभयाे ।
आर्थिक शिथिलता, आम नैराश्यता र युवा पलायन रोक्न युवा केन्द्रित 'प्रोजेक्ट होप', ०७५ सालमै ल्याइएको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक पास, विश्वविद्यालयका कुलपति प्रधानमन्त्री नभई मेरिट बेशमा क्षमतावान् आउने कुराको सुनिश्चिताका लागि सर्वदलीय बैठक राख्न उहाँले माग गर्नुभयाे ।
टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने उहाँले बताउनुभयाे । स्थानीय सरकारको सबलीकरण, वा उद्यमशिलता, मुलुकमा विद्यमान कुशासन र दण्डहीनताविरुद्ध आफूहरुले यस पटक सदनमा आवाज उठाउने सभापति लामिछानेले बताउनुभयाे ।
