काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताउनुभयाे । देश अहिले भ्रष्टाचार र लुटमा मात्र अघि बढेकाे भन्दै उहाँले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
'देश टक्क अडिएकाे जस्ताे अवस्थामा छ, सरकारकाे तर्फबाट जतिसुकै सुशासन, विकास, प्रगति र प्रजातन्त्रका कुरा सुनेपनि देश अगाडि बढ्ने हाेइन, कैयाैं सन्दर्भमा देश पछाडि सरिराखेकाे अवस्था छ, भ्रष्टाचार र लुटमा मात्र अगाडि बढेकाे छ, भ्रष्टाचार कहाँ कहाँ छ भनेर खाेज्ने भन्दा पनि कहाँ कहाँ छैन भनेर खाेज्ने अवस्था छ'- अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
राजनीतिक परिवर्तन र गणतन्त्रकाे नाममा हरेक सरकारका पालामा र हरेक क्षणमा देश लुट्ने काम भएकाे भन्दै उहाँले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको बताउनुभयाे ।
अहिलेको प्रणाली गणतन्त्र नभई लुटतन्त्र भएकाे भन्दै अध्यक्ष लिङ्देनले कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको बताउनुभयाे ।
