काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गठबन्धन सरकारका कारण जनतामा व्यापक निराशा छाएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै प्रमुख सचेतक गिरीले गठबन्धन सरकारकाे गैह्रजिम्मेवार शैलीका कारण जनतामा चरम निराशा छाएकाे बताउनुभयाे ।
अहिलेकाे सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै पनि ठाउँ नरहेको र त्यही कारण युवा विदेश पलायन बढेकाे समेत उहाँले बताउनुभयाे । 'देशकाे अवस्था कहालीलाग्दाे छ, जनतामा निराशा छाएकाे छ, वर्तमान सरकारबाट जनताले आशा गर्ने ठाउँ कहीँपनि भेट्न सकेका छैनन्,त्यही कारणले आफ्नो आत्माविश्वास गुमाएर युवाहरु देश छोडेर विदेश भाग्ने क्रम सुरु भएको छ, जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरुले त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन् त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ'- प्रमुख सचेतक गिरीले भन्नुभयाे ।
यस परिस्थितिकाे गम्भीर मूल्यांकन गर्नुपर्ने उहाँले बताउनुभयाे । सरकारले कानुन, नीति र निर्माणमा ध्यान दिन नसक्दा जनतामा निराशा छाएकाे भन्दै प्रमुख सचेतक गिरीले जनसराेकारका विषय, संविधानसँग सम्बन्धित एेन कानुन निर्माणकाे विषय, सुशासन, राष्ट्रिय हित, समृद्धिका कुरामा जुन ढंगले अगाडि बढाउनुपर्नेमा त्यसाे हुन नसकेकाले पनि जनतामा निराशा छाएकाे बताउनुभयाे ।
सरकारले भ्रष्टाचारी र तस्करकाे संरक्षण गरेकाे, देशमा राेजगारी दिन नसकेकाे, विदेश जान्छु भन्नेलाई समेत गाेली हानेर मारेकाे, देशकाे अर्थतन्त्र ध्वस्त पारेकाे भन्दै प्रमुख सचेतक गिरीले अझैपनि नसच्चिने हाे भने जनताले ठेगान लगाउने चेतावनी समेत दिनुभयाे ।
उहाँले भन्नुभयाे - 'जनताको आक्रोश वायु भनेर आउँछ सरकार सचेत बनोस् । सरकारको निम्ति धेरै महंगो पर्न सक्छ ख्याल गरियोस्, देशभित्र रोजगारी नदिने, विदेश जान्छु भन्नेलाई गोली हानेर मार्ने, विपिन जोशीलाई महिनौदेखि किन नेपाल ल्याउन सकिएन ? विदेशमा मरेका युवाको लाश ल्याएर बुझाउन नसक्ने पनि सरकार हुन्छ ? भ्रष्टाचारलाई संरक्षण गर्ने तर अनुसन्धानका नाममा स्टन्ट मात्रै भएका छन्, विकास र समृद्धिका मुद्दा ओझेलमा परेका छन् ।'
विकास र समृद्धिकाे एजेण्डामा व्यापक छलफल गरेर आम जनतालाई आशा जगाउन प्रमुख प्रतिपक्षीकाे नाताले नेकपा एमाले लागिपर्ने प्रतिबद्धता समेत प्रमुख सचेतक गिरीले जनाउनुभयाे ।
सरकारको कमजोर प्रस्तुतिकै कारण नागरिकमा निराशा मात्र नभएर व्यवस्थामाथि प्रश्न उठाउने ठाउँ मिलेकाे भन्दै उहाँले कार्यशैली सच्चाउन सरकारलाई सुझाव दिनुभयाे ।
