काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताउनुभएकाे छ ।
प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताउनुभयाे ।
‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसलाई खारेज गर्नुपर्छ भन्ने हो । राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाउँ, मुलुक सानो छ । संघ र स्थानीय तह भए पुग्छ भनेर कुरा राख्यो अहिले प्रदेश त बोझ भएको छ । सबैलाई भएको छ । संघीयता बोक्नेहरुलाई पनि भएको छ’ उहाँले भन्नुभयाे ।
उहाँले प्रदेश दलका नेता, कार्यकर्ता थन्क्याउने ठाउँ भएको भन्दै यसमा सबै मिलेर छलफल गर्न आवश्यक भएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे ‘म सुझाव दिन्छु हामी सल्लाह गरौं । हामीले ल्याएको यो तीन व्यवस्था संघ भएपछि प्रदेश किन चाहियो ? फाइदा भने भएको छ, दलका नेता, कार्यकर्ता थन्काउनलाई ठाउँ भएको छ । तर यसले आर्थिक अवस्था चौपट भएको छ ।’
संसद्को मुख्य काम नीतिनियम बनाउने भए पनि व्यवहारमा लागू हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयाे ‘संसदको मुख्य काम नीतिनियम बनाउने हो । सांसदहरु विकासका एजेन्ट भएका छौं । काम भने नियमकानुन बनाउने, अर्कोतिर विकासका कामका ठेकेदार, ठेकापट्टा हाम्रो जिम्मा । हाम्रो काम नियमकानुन मात्र बनाउने हो, यो कुरा व्यवहारमा लागू भएको छैन ।’
