काठमाडाैं । सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभाबाट पारित भएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकले साे विधेयक बहुमतले पारित गरेकाे हाे । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियाेस् भनि प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
साे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे । त्यसअघि विधेयकमा परेका संशाेधन प्रस्ताव बैठकले बहुमतले अस्वीकृत गरेकाे थियाे ।
त्यसअघि मन्त्री गुरुङले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्' भनी प्रस्ताव पेस गर्नुभएकाे थियाे । त्यसपछि विधेयकमाथि छलफल भएकाे थियाे । छलफलमा उठेका प्रश्नकाे मन्त्री गुरुले जवाफ दिनुभएकाे थियाे । त्यसपछि सभामुख घिमिरेले संशाेधन प्रस्तावहरु प्रस्तुत गर्नुभएकाे थियाे । ती सबै संशाेधन बहुमतले अस्वीकृत भएकाे थियाे ।
सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत् निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२७, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, नेपाल राष्ट्र बैंक ऐन २०५८, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० मा संशोधन गरिएको हाे ।
साे विधेयकमाथि प्रतिनिधि सभाकाे कानुन, न्याय तथा मानव अधिकार समि दफावार छलफल भएकाे थियाे । समितिबाट साे विधेयक असाेज २४ गते पारित भएकाे थियाे ।
