काठमाडाैं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मानिसलाई सर्टलिस्टमा पारिएकाे भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद् पाैड्यालले पहिला विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्याङकिङमा विश्वविद्यालयलाई पछाडी धकेलेका मान्छेहरु सर्टलिस्टमा परेका भन्दै आपत्ति जनाउनुभयाे ।
८० प्रतिशत विद्यार्थी त्रिविमा पढ्ने र यसले उच्च शिक्षा निर्धारण गर्ने भन्दै उहाँले यस्ताे महत्वपूर्ण विश्वविद्यालयकाे पहिला पहिला र्याकिङ राम्राे रहेकाे तर अहिले खस्किँदै गएकाे पाइएकाे बताउनुभयाे । कर्मचारी, वैज्ञानिक र राजनीतिज्ञ उत्पादन गर्ने त्रिविकाे र्याकिङ मात्र नभएर यसकाे विश्वास र भराेसा पनि टुट्दै गएकाे र याे चिन्ताजनक विषय भएकाे सांसद् पाैड्यालले बताउनुभयाे ।
राम्रा मान्छेहरु आवेदन दिएर नै छनौट प्रक्रियामा आउने भन्दै उहाँले उनीहरुलाई नेतृत्वले नै अनुराेध गर्नुपर्ने बताउनुभयाे । सांसद् पाैड्यालले भन्नुभयाे - 'शिक्षामन्त्रीज्युको नेतृत्वमा एउटा समिति गठन भएको छ, मेरिटको आधारमा उपकुलपति लिने भनेका छौँ र छनौट तथा सिफारिस समिति बनेको छ, पहिलो कुरो त मलाई के लाग्छ भने विश्वविद्यालय जस्तो ठाउँलाई हेर्ने मान्छे भनेको, राम्रा मान्छेहरु आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन्, राम्रो मान्छेहरु नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरु चाहीँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ. अथवा तपाइँ आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ, हामीले त्यति हिम्मत गर्न सकेनौँ ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक हस्तक्षेप अब नहुने भनेर स्वीकारेकाे कुरा राम्राे भएपनि सर्टलिष्टले राजनीतिक हस्तक्षेप हुन सक्ने आशंका जन्माएकाे उहाँले बताउनुभयाे । सांसद् पाैड्यालले याे गलत भएकाे बताउनुभयाे । 'आवेदनमा कति राम्रा मान्छेहरु परेकै छैनन्, ४३ जनाकाे आवदेन परेपनि २९ जना बाहिर हुनुभएकाे छ, अरु आउनुभएकाे छ, खुशीकाे कुरा एक जना महिला पनि त्यसमा हुनुहुन्छ, दु:खकाे कुरा त्योभित्र टेस्टेड फेल भएका अनुहारहरु पनि आएका छन्, किनभने पहिले विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्याङकिङमा विश्वविद्यालयलाई पछाडी धकेलेका मान्छेहरु पनि आएका छन्, फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ - राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा?- उहाँकाे प्रश्न छ ।
