काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले त्रिभुवन विश्वविद्यालयको र्याङकिङ खच्किँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै पौडेलले देशका ८० प्रतिशत बढी विद्यार्थीले पढ्ने विश्वविद्यालयको अवस्था खच्किनु देशकै अवस्था खच्किनु भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको र्याङ्किङ घट्दा विश्वविद्यालय प्रतिको विश्वास र भरोसा टुट्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
राजनीतिक हस्तक्षेपको कारण त्रिभुवन विश्वविद्यालय थला परेको उहाँले बताउनुभयो । ‘राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयहरू थला परेका छन्, त्यस मध्ये एक त्रिभुवन विश्वविद्यालय पनि हो’, उहाँले भन्नुभयो ।
अहिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि माग गरिएको आवेदन पनि राजनीति भएको पौडेलले बताउनुभयो । विश्व विद्यालयमा राजनीति हुन दिन्न भन्दै प्रधानमन्त्रीले फेरी राजनीति गर्न खोज्नु भएको पौडेलको भनाइ छ ।
विश्वविद्यालयमा उपकुलपति बन्न कुनै पनि राम्रा मान्छे आवेदन दिन नआउने उहाँले प्रष्ट पार्नुभयो । त्यस्ता मानिसहरूलाई अनुरोध गरेर विश्वविद्यालयमा ल्याउनु पर्ने उहाँको सुझाव छ ।
अहिले उपकुलपतिको लागि निकालिएको सर्ट लिष्टमा एक पटक असफल भइसकेका मानिसका नाम निकालिएको पौडेलले बताउनुभयो । एक पटक असफल भइसकेकालाई पुन उपकुलपति बनाएर विश्वविद्यालय सुधार नहुने उहाँको धारणा छ ।
