काठमाडाैं । राष्ट्रिय सभा सदस्य महेश कुमार महराले सरकारका मन्त्रीहरुले सांसद्हरुलाई समय नदिएकाे तर दलालहरुलाई समय दिएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
आइतबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै माओवादी केन्द्रका सांसद् महराले सांसद्लाई भेट नदिने मन्त्रीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउनुभयाे । 'निर्वाचित भएर आएकाे क्षेत्रकाे विकासकाे निम्ति हामीले यहाँ पटकपटक कुरा राखेका छाैं, मन्त्रीहरुसँग भेट्न खाेज्छाैं भेट दिनुहुन्न, म मन्त्रीहरुलाई अनुराेध गर्न चाहान्छु तपाइँहरु यही संसद्ले बनाएका मन्त्री हुनुहुन्छ, माननीय हुने बेला यही राेष्टमबाट बाेलेर यहाँ विकास भएन उहाँ याेजना पुगेन भन्नुहुन्थ्याे, तर आज मन्त्री भइसकेपछि तपाइँहरुले के गर्नुभएकाे छ ? एउटा माननीय बाहिर कुरिरहेकाे हुन्छ, भित्र कुनै अमुक व्यक्ति र दलालहरु आएर बसिरहेका हुन्छन्, तर माननीयहरुले भेट्न पाउँदैनन्'- उहाँले भन्नुभयाे ।
मन्त्रीहरुकाे व्यवहार नसच्चिए कडा रुपमा प्रस्तु हुने बताउँदै सांसद् महराले भन्नुभयाे - 'खबरदार ! यदि तपाइँले संसद्का माननीयप्रति त्यस्ताे व्यवहार गर्नुहुन्छ भने हामी तपाइँहरुका विरुद्ध सदनमा याे भन्दा कडा त बाेल्छाैं-बाेल्छाैं, हामी मिडियामार्फत पनि कडा बाेल्न तयार छाैं ।'
मन्त्रीहरुलाई निर्देशन दिएर काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै उहाँले सरकारका मन्त्रीहरुकाे यही शैल रहिरहे सुशासन कायम हुन नसक्ने बताउनुभयाे ।
कैलालीकी कमला कैनीकाे स्वास्थ्यमथि खेलवाड गरिएकाे भन्दै सांसद् महराले सरकारकाे सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । पाठेघरकी बिरामी कैनीलाई प्रसुती गृहले २ वटा पिसाब नली काटेर पहिलाे अप्रेसन गरेकाे, साेही ठाउँमा दाेस्राे अप्रेसन गरेर पनि ठिक नभएपछि तेस्राे अप्रेसनका लागि टिचिङमा रिफर गरिएकाे बताउनुभयाे । २ वटै पिसाब नली काटिएकाे र दुवै मृगाैला सुन्निएकाे अवस्थामा कैनीसँग उपचारका लागि पैसा नभएकाे तर सरकार र स्वास्थ्य मन्त्रालयकाे ध्यान जान नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'दलित र गरिब महिला जसले आफूसँग भएकाे सबै खर्च लिएर उपचार गरिरहेकी छिन्, दुवै किड्नी सुन्निएकाे छ, यस्ताे अवस्थामा सरकार बेखबर छ, स्वास्थ्य मन्त्रालय बेखबर छ, यी गरिब दुखीका समस्या कहिले समाधान हुन्छ ? पटकपटक डाक्टर र अस्पतालसँग कुरा गर्दा हुन्छ क्षतिपूर्ति दिन्छाैं र उपचार गर्छाैं भन्छ, तर व्यवहारमा बेवास्ता गरिरहेकाे छ, म सरकार, स्वास्थ्य मन्त्रालय र सरकारकाे ध्यानाकर्षण गराउन चाहान्छु ।'
सांसद् महराले पाठेघरकाे उपचार गर्नुपर्ने बिरामीकाे पिसाब नली काटेर गम्भीर लापरबाही भएकाे भन्दै सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे । 'यस्ता कमजाेरी किन भइरहेका छन् ? संवेदनशील क्षेत्रमा सबै डाक्टर नक्कली भएर आएका हुन्, सरकार गम्भीर हुनुपर्छ, एउटाकाे अपरेशन छ अर्काे पिसाब नली काटेर मानिस अकालमा ज्यान गुमाउने स्थितिमा पुगेका छन्'- उहाँले भन्नुभयाे ।
खप्तड क्षेत्रलाई करिडाेरकाे रुपमा विकास गरेर पर्यटनमा विकास गर्न सकिने भन्दै सांसद् महराले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले चीनसँग जाेडिएकाे सुदूरपश्चिमकाे चैनपुर-ताक्लाकाेट नाका खाेल्नका लागि पहल गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
