काठमाडौं। प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सरकारको कूटनीतिक सम्बन्ध बिग्रिएको बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउनका लागि रुससँग कूटनैतिक पहल र संवाद गर्ने क्षमता राख्न नसकेको बताउनुभयो । सरकारले हालसम्म नेपालस्थित रुसी राजदातालाई बोलाएर संवाद गर्नु बाहेक कुनै पहल गर्न सकेको भन्दै आपत्ति जनाउनुभयो । ‘कूटनैतिक पहल र सरकारको क्षमता रसियासँग संवाद गर्न सक्ने स्तरमा छ की छैन ?’, उहाँले प्रश्न गर्नुभयो ।
रुसी सेनामा भर्ती भएका नेपालीको यकिन तथ्याङ्क समेत सरकारसँग नहुनु दुखद भएको शर्माले बताउनुभयो । नागरिकलाई सरकार छ भन्ने महसुस गराउन सरकारले रसियामा गएर सैनिक भई बसेका नेपालीको उद्धार गर्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको धारणा छ ।
एयर अरेबियाको जहाजबाट नेपाल आउन लागेका नेपालीलाई मस्कोस्थित विमानस्थलबाट पक्राउ गरी रुसी सेनाले कब्जामा लिएको प्रति उहाँले आपत्ति जनाउनुभयो । उहाँले सो विषय सरकार जानकार छ की छैन ? भन्दै प्रश्न गर्नुभयो ।
