काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगगको समन्वयमा आवश्यक जनशक्ति थपेर अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकल परिमार्जन गर्न निर्देशन दिएको छ । भिसामा देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो ।
बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उहाँले बताउनुभयाे ।
बैठकले मानव तस्करी नियन्त्रण गर्न निर्दशन, भिक्षुहरुलाई श्रम भिसा दिनुभन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलब्ध गराउन र सडक माग्नेलाई व्यवस्थित गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
